ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र विभिन्न बैंक तथा वित्तीय संस्थाबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी, क्रिष्टल पावर डेभलपमेण्टका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य तथा सहअगुवा र सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने आयोजनाको कुल अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ। आयोजनाका लागि ग्लोबल आइएमई बैंकको नेतृत्वमा बनेको बैंकिङ कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ। कन्सोर्टियममा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक सहअगुवाका रूपमा रहेका छन् भने कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी छन्।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४–४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई देशको विद्युत उत्पादन क्षमता बढाउनुका साथै ऊर्जा निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। आयोजनाको कुल लागतको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुनेछ भने बाँकी २५ प्रतिशत संस्थापक र अन्य लगानीकर्ताबाट जुटाइनेछ। निर्माण सुरु भएको पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतिकृया