पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी, वार्षिक ६ अर्बको पेट्रोलियम आयात घट्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १० गते
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने सरकारको तयारी, वार्षिक ६ अर्बको पेट्रोलियम आयात घट्ने

नेपाल सरकारले चालू आर्थिक वर्षमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाका अनुसार यो निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको हो।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आइतबार आयोजना गरिएको ‘नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा सरकार र निजी क्षेत्रका प्रतिनिधिहरूले पेट्रोलमा इथानोल मिश्रण नीति छिट्टै लागू गर्नुपर्नेमा जोड दिएका थिए।

मन्त्री सिन्हाले उल्लेख गरे, “करिब २० वर्षदेखि अध्ययन र छलफल हुँदै आएको यो विषयमा पेट्रोलमा इथानोल मिसाउने आदेश–२०८२ स्वीकृत भइसकेको छ। नीति शीघ्र राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउनेछ।” उनले पेट्रोलमा १०% इथानोल मिश्रण गर्दा वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने र व्यापार घाटा कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सिन्हाले यसले उखुजस्ता कृषि उत्पादनको माग बढाउने, कृषि भूमिको उपयोग विस्तार गर्ने र आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने बताए। उनले यस क्षेत्रमा विदेशी लगानीको सम्भावना रहेको पनि उल्लेख गर्दै प्रतिस्पर्धा स्वस्थ हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले विगतमा बनेका आयोग र सुझाव समितिको सिफारिसमा यो आदेश आएको बताए। उनले पेट्रोलमा इथानोल मिश्रण मुलुकको हितमा रहेको र आगामी सरकारले पनि यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले २० वर्षदेखि तयारी हुँदै आएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको र असफल हुन नदिने स्पष्ट पारे। उनले भने, “पूर्ण कार्यान्वयनमा आउन एकदेखि डेढ वर्ष लाग्न सक्छ। इथानोलको गुणस्तर मापदण्ड तय गर्न तयारी भइरहेको छ।”

उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेलले भने, मन्त्रालयले हाल नेपालमा व्यावसायिक रूपमा इथानोल उत्पादन नभएको भए पनि आदेशले उत्पादनका लागि बाटो खोलिदिएको जानकारी दिए। राजपत्रमा आदेश प्रकाशित भएपछि मूल्य निर्धारण समिति गठन गरी उत्पादन क्षमताका आधारमा कम्पनी छनोट गरिने उनले बताए।

निजी क्षेत्रका प्रतिनिधिहरूले इथानोल उत्पादनका लागि कच्चापदार्थ पर्याप्त भए पनि उद्योग स्थापना गर्न सहज वातावरण आवश्यक रहेको बताएका छन्। नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल ले वार्षिक करिब दुई लाख ४० हजार मेट्रिकटन चिनी खपत हुने बताए भने दुई लाख मेट्रिकटन मात्र आन्तरिक उत्पादन भइरहेको जानकारी दिए। उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना ले इथानोल मिश्रण कार्यान्वयन गर्दा मूल्य, गुणस्तर र बजार नियमन स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स