सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने नारखोलामा जुट्यो लगानी, कुमारीसहित पाँच बैंकले दिने भए साढे नौ अर्ब

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १५ गते
सिंगटी हाईड्रोको मुख्य लगानीमा बन्ने नारखोलामा जुट्यो लगानी, कुमारीसहित पाँच बैंकले दिने भए साढे नौ अर्ब

सिंगटी हाइड्रो ईनर्जी लिमिटेडको मुख्य लगानीमा मनाङस्थित ६१ मेगावाट क्षमताको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय व्यवस्थापन टुंगिएको छ। सोमबार नार खोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा सम्झौता हस्ताक्षर गरी आयोजना निर्माणका लागि बैंकिङ्ग व्यवस्थापन पूरा गरेका छन्।

नार खोला र सोती खोलाको पानी एकिकृत गरेर बनाइने यस आयोजना ५८८.८२ मिटर ग्रेस हेडमा आधारित हुनेछ र वार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्दछ। हेडरेस टनेलको लम्बाइ करिब ८ किलोमिटर हुनेछ।आयोजनाको बाँध र हेडवर्क संरचना नार्पा भुमि गाउँपालिकामा हुनेछन् भने विद्युत गृह नासोङ गाउँपालिकामा निर्माण हुनेछ। बाँधस्थलबाट सुरुङमार्ग प्रयोग गरी पेनस्टक पाइपमार्फत पानी विद्युत गृहमा पठाएर बिजुली उत्पादन गरिने छ। उत्पादन भएको विद्युत मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

कुल लागत १२ अर्ब ८४ करोड रहेको उक्त आयोजनामा कुमारी बैंकको नेतृत्वमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले कर्जा लगानी गर्नेछन्। यसमा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ। आयोजनाले तीन वर्ष भित्र विद्युत उत्पादन सुरु गरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स