काठमाडौं उपत्यकाका लागि कांग्रेसको एकीकृत ‘भिजन–१०’ सार्वजनिक, युवालाई रोजगारी दिने लगायतका वाचा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
काठमाडौं उपत्यकाका लागि कांग्रेसको एकीकृत ‘भिजन–१०’ सार्वजनिक, युवालाई रोजगारी दिने लगायतका वाचा

काठमाडौं, भक्तपुर र ललितपुरका १५ निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरूले बिहीबार उपत्यका विकासका लागि साझा एकीकृत प्रतिबद्धता पत्र (भिजन–१०) सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीनै जिल्लाका उम्मेदवारहरूले भर्चुअल माध्यमबाट प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।

प्रतिज्ञा पत्रमा तीन जिल्लालाई एउटै सहरका रूपमा लिइ स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने योजना उल्लेख छ। उपत्यकाको बहन क्षमता अनुसार सहर व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनःसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ र सक्षम बनाउने वाचा पनि गरिएको छ।

सहरी यातायात व्यवस्थापनका लागि एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अपनाई मास ट्रान्सपोर्टसहितको सडक पूर्वाधार निर्माण गर्ने र पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई ध्यानमा राख्दै उपत्यकालाई वाकेबल सिटी बनाउने योजना पनि प्रतिज्ञा पत्रमा समेटिएको छ।

साथै, उपत्यकामा प्रदूषण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक स्थल संरक्षण, नदीको संरक्षण, शुद्धिकरण र सौन्दर्यीकरण र आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्क संरक्षणसम्बन्धी योजना कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उल्लेख छ।

शिक्षा क्षेत्रमा गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक पहुँच, स्वास्थ्य क्षेत्रमा सर्वशुलभ, गुणस्तरीय र प्रविधिमैत्री सेवाको विकास र समग्र स्वास्थ्य प्रणालीलाई विश्वस्तरीय बनाउने योजना समेत प्रतिज्ञा पत्रमा समावेश छ।

उपत्यकाको भू उपयोग नीति, सहरी पूर्वाधार, भवन संहिता, ढल व्यवस्थापन, पुनरुत्थान गुरुयोजना र विपद् व्यवस्थापनका लागि पूर्व चेतावनीसहितको कमाण्ड सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ।

प्रतिज्ञा पत्रले रोजगारी सिर्जना, युवालक्षित रोजगारी, डिजिटल/आईटी उद्यम, सामाजिक सुरक्षा प्याकेज, गरिबी निवारण, सुकुम्बासी व्यवस्थापन तथा खानेपानी व्यवस्थापनका लागि कम्तीमा आगामी ५० वर्षको योजना निर्माण र जलभण्डारण–जलपुर्नभरण योजना कार्यान्वयन गर्ने वाचा पनि समेटेको छ।

कार्यक्रममा बोल्दै महामन्त्री प्रदीप पौडेलले भने, “काठमाडौं उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकता हो। एक्ला एक्लै भन्दा सामूहिकतामा प्रभावकारी हुने भएकाले साझा प्रतिज्ञा गरिएको हो। यसले भावी दिनमा उपत्यकाको विकासमा एकजुट भएर काम गर्न मार्गदर्शन गर्नेछ।”

प्रतिज्ञा पत्रमा काठमाडौंका उम्मेदवारहरू – प्रबल थापा (काठमाडौं १), कविर शर्मा (काठमाडौं २), रमेश अर्याल (काठमाडौं ३), सचिन तिमिल्सना (काठमाडौं ४), प्रदीप पौडेल (काठमाडौं ५), कृष्णसबुज बानियाँ (काठमाडौं ६), प्रमोदहरि गुरागाईं (काठमाडौं ७), सपना राजभण्डारी (काठमाडौं ८), नानु बास्तोला (काठमाडौं ९), हिमाल कार्की (काठमाडौं १०) – र भक्तपुर तथा ललितपुरका उम्मेदवारहरू – किरण न्यौपाने, कविर राणा, उदयशमशेर राणा, प्रेमकृष्ण महर्जन, जितेन्द्रकुमार श्रेष्ठ – को प्रतिबद्धता समेटिएको छ।

1111111 pratigya 1772104400 1 https://bajarkochirfar.com/congress-unified-vision-10-for-kathmandu-valley-made-public-promises-to-provide-employment-to-youth | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स