अस्पतालैपिच्छे एउटै स्वास्थ्य परीक्षण दोहोर्याउनु पर्ने झन्झट हटाउँदै सरकार, ईएमआर प्रणालीले के-कस्ता सुविधा ल्यायो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसनतर्फ अघि बढाउँदै एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्देशिका पारित गर्दै यसको कार्यान्वयन अघि बढाउने निर्णय गरेका छन्।
यो प्रणाली लागू भएपछि बिरामीको सम्पूर्ण स्वास्थ्य जानकारी अनलाइनमा सुरक्षित राखिनेछ। कुनै पनि अस्पतालमा गएर सोही विवरण हेर्न, अपडेट गर्न र प्रयोग गर्न सकिनेछ। हाल अस्पतालहरूले आ–आफ्नै विद्युतीय प्रणाली अपनाए पनि तिनीहरूबीच जानकारी आदान–प्रदानको व्यवस्था छैन। यसका कारण बिरामीहरूले पटक–पटक एउटै परीक्षण गराउनुपर्ने बाध्यता छ।
निर्देशिकाले सबै स्वास्थ्य संस्थाहरूलाई राष्ट्रिय एकीकृत प्रणालीमा आबद्ध गर्ने व्यवस्था गरेको छ। बिरामीलाई विशेष स्वास्थ्य पहिचान नम्बर (हेल्थ आईडी) दिइनेछ, जसमा स्वास्थ्य परीक्षण, ल्याब रिपोर्ट, उपचार विधि, रेडियोलोजी रिपोर्ट र डिस्चार्ज विवरण सुरक्षित रहनेछ। बिरामीले जुनसुकै अस्पतालमा गएर आफ्ना पुराना स्वास्थ्य विवरण सहजै प्राप्त गर्न सक्नेछन्।
यस प्रणालीले स्वास्थ्य परीक्षणको दोहोरोपन हटाउनेछ। स्वास्थ्य संस्थाले सेवाग्राहीको राष्ट्रिय परिचयपत्र, नागरिकता, मतदाता परिचयपत्र वा चालक अनुमतिपत्रको आधारमा हेल्थ आईडी दिनेछन्। यसबाट स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष र अनलाइन भुक्तानी पनि गर्न सकिनेछ।
ईएमआर लागू भएपछि सबै अस्पताल र स्वास्थ्य संस्था अनिवार्य रूपमा प्रणालीमा दर्ता हुनुपर्नेछ। बिरामीको विवरण सुरक्षित राख्ने जिम्मेवारी सम्बन्धित स्वास्थ्य संस्थाको हुनेछ। मन्त्रालयले सेवाग्राही पोर्टल विकास गरी, उपचारमा संलग्न स्वास्थ्यकर्मीबाहेक अन्य व्यक्तिलाई सूचना उपलब्ध नहुने व्यवस्था मिलाएको छ। कानूनी आवश्यकता परेमा मात्र सरकारले जानकारी माग्न सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ।
यस प्रणालीको सफल कार्यान्वयनका लागि केन्द्रीय निर्देशक समिति गठन गरिनेछ, जसले राष्ट्रिय रूपमा प्रणाली सञ्चालन गर्नेछ। प्रदेशस्तरमा प्रदेश समन्वय समिति र स्थानीय तहमा स्थानीय कार्य समिति रहनेछन्, जसले स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी सेवा प्रवाह सुनिश्चित गर्नेछन्।
ईएमआर लागू भएसँगै बिरामीलाई बारम्बार स्वास्थ्य परीक्षण गर्नुपर्ने झन्झट हट्ने, स्वास्थ्य विवरण सुरक्षित रहने, अस्पतालहरूबीच सहज समन्वय हुने विश्वास गरिएको छ।