तीनकुने प्रकरण: बयानका लागि अदालत उपस्थित भए धवलशमशेर राणा, मिश्र अझै फरार
तीनकुने प्रकरणका अभियुक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणा सोमबार काठमाडौँ जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन्। यसअघि बयान र थुनछेक बहसमा अनुपस्थित रहेका राणा न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान दिने कार्यक्रम छ।
गत चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्यविरुद्धको कसुरमा पक्राउ परेका राणालाई अनुसन्धान पूरा भएपछि प्रहरीले उपचारका लागि हाजिरी जमानीमा रिहा गरेको थियो। त्यसयता उनी पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा देखिएका भए पनि आफूविरुद्ध दायर मुद्दामा बयान र बहसमा उपस्थित भएका थिएनन्। प्रहरीको बोलावट र पत्राचारमा पनि अनुपस्थित रहेपछि काठमाडौँ प्रहरीले जमानीमा रहेका व्यक्तिहरूलाई जरिवाना तोकेको थियो, तर जिल्ला अदालतले उक्त जरिवाना नलिन प्रहरीलाई आदेश दिएको थियो।
यसैबीच फरार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै फरार छन्।