उपभोक्ता ऐन उल्लंघन गर्ने यी कम्पनीहरु जरिवाना सहित कारबाहीमा परे
नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित आठ वटा उद्योग तथा फर्ममा आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षणसम्बन्धी निरीक्षण गरेको छ। अनुगमनका क्रममा विभागले केही फर्मलाई जरिवाना त लगाएको छ भने केहीलाई आवश्यक निर्देशनसमेत दिएको छ।
विभागका अनुसार ‘काठमाडौं मार्केटिङ एण्ड ट्रेडिङ हाउस प्रा.लि.’ उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) अनुसार दोषी पाइएपछि सोही ऐनको दफा ३९ (१)(ख) बमोजिम दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, ‘विश्वनाथ ओभरसिज प्रा.लि.’ लाई अठार हजार रुपैयाँ जरिवाना तिराइएको छ।
यसैगरी, ‘युरो स्कुल प्रा.लि.’ (बुढानिलकण्ठ न.पा.–०६) र ‘मिल्सवेरी इन्टरनेशनल स्कुल प्रा.लि.’ (टोखा न.पा.–०४) लाई विद्यालयसँग सम्बन्धित सम्पूर्ण कागजात तीन दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ।
त्यस्तै, ‘वि.जे. इन्टरनेशनल प्रा.लि.’ (टोखा न.पा.–१०) र ‘गुडनेश फुड्स प्रा.लि.’ (काठमाडौँ महानगरपालिका–०३) लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।
अनुगमनका क्रममा ‘आदित्य इन्टरप्राइजेज’ र ‘गणपती खाद्य भण्डार’ लाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम विक्रेताले पालना गर्नुपर्ने दायित्व तथा आचरणहरू पूर्णरूपमा पालना गर्न विभागले निर्देशन दिएको छ।