३ अर्ब लगानीमा बनेको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा, कहिलेबाट आउँछ सञ्चालनमा ?
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। संयुक्त ऊर्जा लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाले जेठ १ गतेदेखि परीक्षण उत्पादन गर्ने तयारी गरिरहेको छ।
आयोजनाका प्लान्ट म्यानेजर विनोद पौडेलका अनुसार बाँध, सुरुङ, विद्युत्गृह, स्वीचयार्डलगायत सम्पूर्ण संरचना निर्माण पूरा भइसकेको छ भने टर्बाइन लगायतका उपकरणको जडान र प्रारम्भिक परीक्षण कार्य पनि सम्पन्न भएको छ।
हाल आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ, जसको टावरमा तार तान्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ। निर्माण सम्पन्न भएपछि उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ।
आयोजनाको सुरुङ ३,३८२ मिटर र पेनस्टक टनेल ६३४ मिटर लामो छ। बाँध क्षेत्र कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्रमा पर्छ भने विद्युत्गृह रघुगङ्गा नदी किनारमा निर्माण गरिएको हो।
आयोजनामा ३० प्रतिशत लगानी गैरआवासीय नेपाली तथा अन्य निजी लगानीकर्ताको छ भने बाँकी ७० प्रतिशत नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको सहलगानीमा बैंक ऋणमार्फत जुटाइएको हो। कुल लागत करिब ३ अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ।
सिभिल निर्माण साकुरा पावर र त्रिपल एस जेभीले गरेका हुन् भने इलेक्टोमेकानिकल उपकरण टोयर हाइड्रोले जडान गरेको हो। अन्तिम तयारीमा जुटेको आयोजनाबाट चाँडै विद्युत् उत्पादन सुरु हुने आशा गरिएको छ।