हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानबिन गर्न सरकारले बनायो पाँच सदस्यीय समिति



मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडक खण्डको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयअनुसार गठित उक्त समितिको संयोजकता सडक विभागका उपमहानिर्देशक ललिजन खनालले गर्ने छन्। समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव, र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्यको रूपमा रहेका छन्।


Advertisement

समितिलाई सो दुर्घटनाको कारण पत्ता लगाउने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायहरू सिफारिस गर्ने र घटनास्थलमा अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिनेबारे सुझावसहितको स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। समितिले आइतबारदेखि नै काम सुरु गरिसकेको छ।

मन्त्री दाहालले उक्त अप्रत्याशित घटनाप्रति दुःख व्यक्त गर्दै घाइते मजदुरहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, उनले घाइतेहरूको उपचारमा कुनै पनि कमी नहोस् भन्ने सुनिश्चित गर्न मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई आवश्यक निर्देशन दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर