बिना बिल मदिरा बिक्री गरेपछि सञ्चालक विरुद्ध साढे ५ करोडको कर छली मुद्दा
राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा संस्कार ट्रेडर्सका सञ्चालक होमप्रसाद चालिसेविरुद्ध उच्च अदालत पाटनमा साढे ५ करोड रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
विभागका अनुसार काठमाडौंको कागेश्वरी मनोहरास्थित संस्कार ट्रेडर्सले मदिरा बिक्री गर्दा बिल जारी नगरी मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क कर छलि गरेको पाइएको छ।
चालिसेको फर्मले २ करोड २५ लाख रुपैयाँ भ्याट र ५० लाख ३६ हजार रुपैयाँ अन्तःशुल्क गरि कुल २ करोड ७५ लाख रुपैयाँ राजस्व छली गरेको देखिएको छ। विभागले सोही बराबरको जरिवाना सहित ५ करोड ५१ लाख १८ हजार ४५२ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।