सामाजिक सञ्जालमा ट्रोल गर्ने र फेक भिडियो बनाउनेहरुलाई सरकारले पाँच लाख रुपैयाँसम्म जरिवाना तिराउने
सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग, र नियमनका लागि नयाँ विधेयक संसदमा पेस गरेको छ। प्रवक्ता एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेको विधेयकले साइबर अपराध र ट्रोलिङलाई कडा रूपमा नियन्त्रण गर्ने प्रावधान राखेको छ। साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ। ट्रोलिङ, मिथ्या तथा भ्रामक सूचना प्रसार, सूचना तोडमरोड, र डिपफेक भिडियो अपलोडमा कडा प्रतिबन्ध लगाइएको छ। साथै, अनुमति बिना सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नपाइने र राष्ट्रहितविपरीत गतिविधिमा संलग्न हुनेहरूलाई कानूनी कारबाही हुने व्यवस्था छ। प्रयोगकर्तालाई सफाइको अवसर दिने प्रावधान पनि समावेश गरिएको छ।