प्रभु बैंकलाई महेश बस्नेतको प्रश्न: युवाले व्यवसाय गर्न पाँच लाख नपाउने, रवि लामिछानेलाई बिना धितो २ करोड २५ लाख किन?
नेकपा एमालेका नेता महेश बस्नेतले प्रभु बैंकलाई रवि लामिछानेलाई बिना धितो २ करोड २५ लाख रुपैयाँको ऋण उपलब्ध गराएको विषयमा प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस ऋणको प्रक्रिया छानबिनको माग गर्दै, बैंकले युवालाई पाँच लाख रुपैयाँको ऋणसमेत नदिने अवस्था हुँदा लामिछानेलाई कसरी करोडौं ऋण उपलब्ध गरायो भन्ने प्रश्न उठाएका छन्। बस्नेतले प्रभु बैंक र लामिछानेलाई बीचको साठगाँठ र सहकारी ठगी प्रकरणमा बैंकको संलग्नता बारे पनि टिप्पणी गरेका छन्। सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेले रुपन्देही जिल्ला अदालतबाट रु. १ करोड धरौटीमा रिहा पाएका थिए, जुन प्रभु बैंकको ग्यारेन्टीमार्फत बुझाइएको थियो। यसअघि पनि लामिछानेले सहकारी ठगीसम्बन्धी अन्य मुद्दाहरूमा प्रभु बैंकको ग्यारेन्टी प्रयोग गर्दै कास्की र काठमाडौं जिल्ला अदालतमा क्रमशः रु. ६५ लाख र रु. ६० लाख धरौटी बुझाएका थिए।