नेपाल टेलिकममा सर्वसाधारणको सेयर ८ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने सरकारको तयारी
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकममा सर्वसाधारणको सेयर स्वामित्व २५ प्रतिशत पुर्याउने सरकारको योजना रहेको बताएका छन्। उनले मंगलबार टेलिकमको २१औं वार्षिकोत्सवमा आगामी वर्षभित्र सर्वसाधारणको सेयर हिस्सा कम्तीमा २५ प्रतिशत पुर्याइने जानकारी दिए। मन्त्री गुरुङका अनुसार, सर्वसाधारणको स्वामित्व बढेपछि उनीहरूले कम्पनीसँग अपनत्व महसुस गर्छन् र काम नगरे जनताको निगरानी बढ्छ, जसले कम्पनीलाई जिम्मेवार बनाउँछ। हाल नेपाल टेलिकममा संस्थापकको ९१.५३ प्रतिशत स्वामित्व छ, भने सर्वसाधारणको सेयर हिस्सा ८.४७ प्रतिशत मात्र छ। मन्त्रीले सेयर स्वामित्व वृद्धि प्रक्रिया भने खुलासा गरेनन्।