अर्थ मन्त्रालयमा बिचौलियाहरुको जगजगी, ठूलै रकमको लेनदेन भइरहेको छ: स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लले अर्थ मन्त्रालयमा बिचौलियाको प्रभाव र आर्थिक चलखेललाई रोक्न कडा कदम उठाउनुपर्ने बताएका छन्। संसदको अर्थ समितिमा बोल्दै उनले बिचौलियाको रजगज, ठूलो रकमको लेनदेन, र तजबिजी प्रवृत्तिले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारिरहेको बताए।
उनले भन्सार प्रणालीलाई सुधार गर्न नयाँ भन्सार ऐन ल्याउनुपर्नेमा जोड दिए। भन्सारमा हुने सुरक्षा निकाय र कर्मचारी सरुवामा देखिने आर्थिक लेनदेन रोक्न, भन्सार प्रक्रियालाई डिजिटलाइज गर्न, र भन्सार छलीविरुद्ध कडा कानूनी कारबाहीको व्यवस्था गर्न उनले आग्रह गरे।
वाग्लले नेपालभन्दा अघि रहेका मुलुकका भन्सार प्रविधि अपनाउँदै राजनीतिक प्रतिवद्धतासहित भन्सार प्रणालीलाई आधुनिक र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याए।