राजेश हमालको कमब्याक भनिएको चलचित्र ‘नरसिंहा अवतार’को अहिलेसम्मको कमाई कति ?
राजेश हमालको कमब्याक भनिएको चलचित्र ‘नरसिंहा अवतार’ले नेपाली बक्सअफिसमा १ करोड ७५ लाख ३ हजार ९२६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। बक्सअफिस स्रोतले दिएको जानकारीअनुसार, कुल ६३ हजार ५७ वटा टिकट बिक्री हुँदा यो आम्दानी भएको हो।
आठ वर्षपछि ‘नरसिंहा अवतार’मार्फत रजतपटमा फर्किएका हमालको यो चलचित्र जेठ ९ गतेदेखि प्रदर्शनमा आएको थियो। निर्माणपक्षले चलचित्र सफल भएको दाबी गरेको छ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा राजेश हमालसँगै राज कटुवाल, सरोज खनाल, नीति शाह, शनिषा भट्टराईलगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। प्रचारका क्रममा मुख्य कलाकारहरू मोफसलसम्म पुगेका थिए भने हमाल स्वयं काठमाडौंदेखि मोफसलसम्मका हलहरूमा पुगेर दर्शकसँग भेट गरेका थिए।