मौद्रिक नीतिले कसरी सेयर बजारलाई बुलिश र वियरिस बनाउने गरेको छ ? अबको नीतिले के गर्ला ?
नेपाल राष्ट्र बैंक ऐन २०५८ जारी भएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न सुरु गर्यो। आर्थिक वर्ष २०५९/०६० मा पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरियो। मौद्रिक नीतिमा सेयर बजार र सेयर धितोकर्जाका बारेमा भने २०६४/६५ बाट उल्लेख हुन थाल्यो। तत्कालिन का. मु. गभर्नर कृष्ण बहादुर मानन्धरले २०६४ साउन ७ गते प्रस्तुत गरेको मौद्रिक नीतिको बुँदा नम्बर ४५ मा नेप्से सुचकाङ्क ६८४ पुगेको उल्लेख गरिएको छ। सो नीतिमा वित्तिय संस्थाहरुको वित्तिय स्वास्थ्यमा सुधार, मौद्रिक तरलतामा विस्तार तथा न्युन ब्याजदरको स्थिति र वैकल्पिक लगानीको अभावका कारण सेयर बजार गतिविधि बढेको उल्लेख गरिएको थियो। ‘समग्र आर्थिक गतिविधिमा विस्तार नआई सेयरको मूल्यमा मात्रै अत्यधिक वृद्धि हुने यस्तो प्रवित्तिले भविष्यमा सेयर बजारमा गतिरोध ल्याउनसक्ने पनि हुन्छ। सेयरको मूल्य वृद्धिले फोका (बबल) को रुप धारण गर्यो र सो फुट्न गएमा अर्थतन्त्रमा नकारात्मक स्थिति उत्पन्न हुन्छ। राष्ट्र बैंक वस्तु तथा सेवाको मूल्य वृद्धिका साथै सम्पतीको मूल्य वृद्धिप्रति पनि सचेत रहँदै आएको छ’ भन्ने कुरा सो नीतिमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०६५/६६ को मौद्रिक नीतिमा पहिलोपल्ट सेयर धितोकर्जाका बारेमा उल्लेख गरिएको देखिन्छ। २०६५ पुषमा नेप्से परिसूचक १०६५ बिन्दुसम्म पुगेको उल्लेख गर्दै का. मु. गभर्नर मानन्धरले नै प्रस्तुत गरेको मौद्रिक नीतिको बुँदा नम्बर २५ मा सेयर बजारमा ठुलो उतार चढाव आउन नदिने उद्धेश्यले यस बैंकले सेयर धितोमा प्रवाह हुने बैंक कर्जामा हस्तक्षेप गरी पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत सेयर मूल्यको ५० प्रतिशत भन्दा बढी सेयर कर्जा दिन नपाईने निर्देशन जारी भईसकेको कुरा उल्लेख गरिएको देखिन्छ।
राष्ट्र बैंकको यो नीतिपछी सेयर बजारमा गिरावट आउन थाल्यो। त्यसपछिका मौद्रिक नीतिहरुमा सेयर बजारका बारेमा खासै उल्लेख
गरिएन। २०६६/६७ को मौद्रिक नीतिमा २०६७ असार मसान्तमा नेप्से परिसूचक ४७७ को बिन्दुमा झरेको कुरा उल्लेख गरिएको थियो। सेयर बजारमा देखिएको शिथिलतालाई दृष्टिगत गर्दै राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको नवीकरण र मार्जिन कललाई केहि खुकुलो बनाईसकेको कुरा सो मौद्रिक नीतिमा उल्लेख भएको पाईन्छ।
सो मौद्रिक नीतिमा आ. व. २०६५/६६ मा लिईएको १८० दिनको मूल्यको औसतको ५०% मात्रै मार्जिन कर्जा दिन सकिने नीतिलाई खुकुलो बनाउँदै १८० दिनको औसत वा अन्तिम बजारमूल्य मध्ये जुन कम छ त्यसको ६०% सम्म मार्जिन दिन पाइने व्यवस्था गरियो।
मौद्रिक नीतिमा गरिएको यो व्यवस्थाले पनि सेयर बजारमा आएको गिरावटलाई रोक्न सकेन। नेप्से सुचकाङ्क २९२ बिन्दुसम्म झर्यो।
त्यसपछि आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा राष्ट्र बैंकले १८० दिनको औसत वा अन्तिम मूल्यमध्ये जुन कम हुन्छ त्यसको ६०% मार्जिन कर्जा दिन सकिने व्यवस्थालाई थप खुकुलो बनाउँदै बैंकहरुले स्व-विवेकले जोखिम न्यूनीकरण गरी मार्जिन तोक्न सक्ने र सेयर धितोकर्जा लिन सेयरको प्रमाणपत्र नै राख्नुपर्ने व्यवस्थालाई शंसोधन गर्दै ब्रोकरको सिफारिसमा समेत कर्जा लिन सकिने व्यवस्था गर्यो। यसले सेयर बजारमा उछाल ल्याईदियो। नेप्से परिसूचक बढ्दो क्रममा गयो। डा. चिरन्जीवी नेपालले २०७३ असार ३० गते सार्वजनिक गरेको मौद्रिक नीतिको बुँदा नम्बर २९ मा नेपालको सेयर बजार परिसूचक नेप्से सुचकाङ्क २०७२ असार मसान्तको ९६१.२ को बिन्दुबाट बढेर २०७३ असार मसान्तमा १६९० को बिन्दुमा पुगेको उल्लेख गरिएको छ। पुँजी वृद्धि गर्ने क्रममा बैंक तथा वित्तिय संस्थाहरुले बोनस एवं हकप्रद सेयर जारी गरेको र २०७२ माघदेखि डिम्याट प्रणालीबाट मात्रै सेयर कारोबार गर्ने प्रणाली सुरु भएको, राजनीतिक संक्रमण अन्त्य हुने अपेक्षा बढ्दै गएकाले नेप्से सुचकाङ्कमा उच्च वृद्धि देखिएको कुरा सो मौद्रिक नीतिमा उल्लेख गरिएको छ। सो मौद्रिक नीतिको बुँदा नम्बर १०५ मा बैंक वित्तिय संस्थाहरुको सेयर धितोमा जाने कर्जा बढीमा आफ्नो प्राथमिक पूंजी बराबर मात्रै हुनुपर्ने उल्लेख छ।
सेयर बजार उच्च रुपमा बढ्न थालेपछि राष्ट्र बैंकले बैंकहरुको स्वविवेकमा छोडीदिएको मार्जिन फेरी १८० दिनको औसतको ५०% मा
झारिदियो। यो नीतिले बजारमा गिरावट आउन थाल्यो। आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा नेप्से सुचकाङ्क १२५९ को बिन्दुमा रहेको उल्लेख गरिएको छ। २०७५ को असार मसान्तमा नेप्से सुचकाङ्क १२१२ को बिन्दुमा रहेको पनि सो नीतिमा उल्लेखित छ।
आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति वर्तमान गभर्नर महाप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए। सो नीतिको बुँदा नम्बर ३३ मा २०७६ को असार मसान्तमा १२५९ रहेको नेप्से परिसूचक २०७७ असार मसान्तमा १३६२ कायम रहेको उल्लेख गरिएको थियो। त्यसपछि सेयर बजार बढ्दै गयो। कोभिडको लकडाउनको बेलामा अरु सबै बन्द हुँदा पनि सेयर बजार खुल्ला नै थियो। धेरै जना सेयर बजारतर्फ केन्द्रित भईदिंदा सेयरको माग उच्च रुपमा बढ्यो र त्यसले मूल्यमा उछाल ल्यायो। आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको बुँदा नम्बर ३६ मा २०७७ असार मसान्तमा १३६२.४ को बिन्दुमा रहेको नेप्से सुचकाङ्क २०७८ असार मसान्तमा २८८३.४ कायम भएको कुरा उल्लेख गरिएको थियो। बुँदा नम्बर ११० मा बैंक तथा वित्तिय संस्थाहरु बाट सेयर धितो कर्जामा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तिय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तिय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्रै लिनसक्ने व्यवस्था मिलाईनेछ भन्ने उल्लेख छ।
त्यो व्यवस्थापछि बजारमा गिरावट आउन थाल्यो र नेप्से परिसूचक अहिले १९६० को लाईनमा छ। ४/१२ को नीतिको व्यापक विरोध भएपछि राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै व्यक्तिगत र संस्थागत छुट्ट्याई व्यक्तिगततर्फ १५ करोड र संस्थागतलाई २० करोडको सेयर धितोकर्जाको क्याप तोक्यो। यो नीतिले बजारलाई सकारात्मक प्रभाव पारेन झन् बजार घट्न थाल्यो।
राष्ट्र बैंकले सेयरको मूल्य तीव्र रुपमा बढ्दै गएपछि नीतिगत कैँची चलाउने गरेको देखिन्छ। फेरी बजार घटेर निक्कै तल आएपछि सेयर बजार नबढी अर्थतन्त्रमा सुधार आउँदैन भन्दै ललिचो नीति लिने गरेको छ जसले बजार उच्च रुपमा बढ्न थाल्ने गरेको देखिन्छ। आगामी आर्थिक वर्षको मौद्रिक लचिलो हुने देखिन्छ किनभने ‘सजगतापूर्वक लचिलो नीति’ लिईने कुरा मौद्रिक नीतिको कार्यदिशामा यसअघि नै उल्लेख गरिसकिएको छ।