प्राधिकरणले भन्यो, “लक्ष्मी पूजाको साँझमा विद्युतको माग उच्च भए पनि आपूर्तिमा अभाव हुने छैन”
नेपाल विद्युत् प्राधिकरणका अनुसार यसपालि लक्ष्मी पूजाको साँझ करिब १७०० मेगावाट हाराहारी विद्युत् माग पुग्ने अनुमान गरिएको छ।
तिहारको समयमा घर, कार्यालय, र अन्य सार्वजनिक स्थानमा झिलीमिली बत्ती र विद्युतीय दीप प्रज्वलनको कारण विद्युत् माग उच्च हुने परम्परा रहँदै आएको छ। यस वर्ष विशेषगरी लक्ष्मी पूजाको दिन साँझमा औसतभन्दा बढी विद्युत् उपभोग हुने अपेक्षा गरिएको छ।
प्राधिकरणले माग पूर्ति गर्न पर्याप्त आपूर्तिको व्यवस्था भएको र विद्युत् अभाव नहुने जानकारी दिएको छ। यसबाहेक, तिहारको बिदामा धेरै उद्योगहरू बन्द हुने भएकाले औद्योगिक माग घटेर घरेलु माग धान्न सहयोग पुग्ने बताइएको छ। हाल करिब १९०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ, जसले आन्तरिक माग पूर्ति गर्नुका साथै केहि मात्रामा विद्युत् निर्यात गर्न समेत सहयोग गर्नेछ।
प्राधिकरणले सम्भावित अवरोध नियन्त्रणका लागि विशेष तयारी गरेका कारण यो तिहारमा लोडसेडिङको सम्भावना नरहेको बताइएको छ।