एआईको प्रयोगबाट एसईई नतिजामा सुधार सम्भव: प्रधानमन्त्री ओली
एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरू भएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। सम्मेलनमा उनले एआइको उपयोग गरेर एसईईमा फेल हुने विद्यार्थीको संख्यामा सुधार ल्याउन सकिने बताएका छन्।
प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिलाई जीवनलाई सरल बनाउनको लागि उपयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए। “हामी विकासको तिर्खामा छौं, त्यसैले डिजिटल नेपालको अवधारणा अघि बढाउन जरुरी छ। हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ। एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ”, उनले भने।
सम्मेलनमा करिब एक हजार नेपाली र विदेशी सहभागीको उपस्थिति रहेको छ, जसमा एआईका विभिन्न १० समूहगत विषयमा छलफल हुनेछ। युरोपियन युनियन, जापान, उत्तर कोरिया, बेलायतलगायतका देशबाट विशेषज्ञ र प्रतिनिधिहरू सहभागी छन्।