कहाँबाट आईरहेको छ सेयर बजारमा यति धेरै पैसा ? के यो बढाई टिक्ला ?
यतिबेला जताततै सेयर बजारकै चर्चा छ। आज बुधबार २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो। नेप्सेमा आज भएको कारोबार ‘रेकर्ड ब्रेक’ कारोबार हो।
केहि सातादेखि नेप्सेमा लगातार १० अर्बभन्दा बढीको कारोबार भईरहेको छ। नेप्से परिसूचक बढ्दै गर्दा हुँदै गएको ठूलो कारोबारले के संकेत गर्दैछ ? सेयर बजारमा यति धेरै पैसा कहाँबाट आईरहेको छ ? यो पैसा केहि लामो समयका लागि आएको हो या छोटो समयको स्पेकुलेसनका लागि आएको हो ? यी विषयहरु यतिबेला सबैको चासोको विषय बनेका छन्।
नेप्सेमा टप कारोबार गर्ने ब्रोकरको सूचीमा प्राय: शिर्ष ५ स्थानभित्र पर्ने भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना बजारमा नयाँ लगानीकर्ता भित्रिएको बताउँछन्। अहिले बजारमा भईरहेको कारोबारको २५-३०% हिस्सा नयाँ लगानीकर्ताको भएको र नयाँ लगानी भित्रिने क्रम जारी रहेको उनले बताए। त्यस्तै बजारमा लगानी गर्ने उपयुक्त अवसर पर्खेर बसेका संस्थागत लगानीकर्ताहरु पनि यतिबेला आक्रामक खरिदमा लागेकाले बजारमा कारोबार रकम बढेको उनको बुझाई छ। ‘अर्को २५/३०% हिस्सा संस्थागत लगानीकर्ताको हो। व्यापार छैन, व्यापारबाट खासै आम्दानी नहुने अवस्थामा यता सेयर बजारमा चार्म देखिँदै गर्दा अहिलेलाई यतैतिर पैसा हालौं भन्ने व्यापारी साथीहरुको प्रवेशले पनि कारोबार बढाएको जस्तो लाग्छ।’
नेप्सेमा टप कारोबार गर्ने एक अर्को ब्रोकरका सीईओ यतिबेला बजारमा ठूलो मात्रामा नयाँ पैसा छिरेको बताउँछन। बजारमा यत्रो ठूलो कारोबार हुँदा पनि सेटलमेन्टका लागि खासै गाह्रो नपरेको उनको भनाई छ। पहिलाको जस्तो ब्रोकरको उधारोको भरमा अहिलेको बजार नचलेको पनि उनले बताए।
विदेशबाट पठाएको रेमिट्यान्स सेयर बजारमा आयो : दिपेन्द्र अग्रवाल
लगानीकर्ता दिपेन्द्र अग्रवाल विदेशबाट नेपाल पठाएको पैसा सेयर बजारमा आएको बताउँछन। यतिबेला सेयर बजारमा लगानी गर्ने बेला हो भन्ने सबैलाई लागेकाले बजारमा थप पैसा भित्रिने उनको विश्लेषण छ। फाइनान्स सब इन्डेक्सले अल टाईम हाई (३३०० को जोन) ब्रेक गरेको र फाइनान्स सेक्टर लगानीकर्ताको रोजाईको सेक्टर बन्न सफल भएको पनि उनले बताए। बजार बढ्ने क्रम भर्खरै सुरु भएकाले कारोबार रकममा उछाल आउँदै जाने उनको विश्लेषण छ।
बजार ‘ट्रेडर्स’ को हातबाट ‘ठूला’ को हातमा गयो : केशव कोइराला ‘काका’
सेयर लगानीकर्ता केशव कोइराला बजारमा ठूला लगानीकर्ता छिरेकाले ऐतिहासिक कारोबार भएको बताउँछन। ट्रेडरहरुको अनुमानलाई चक्मा दिँदै ठूला लगानीकर्ताहरु ठूलो पैसा लिएर बजार छिरेको कुरा आज बुधबारको बजारले स्पष्ट पारेको बताउँदै अब ठूला लगानीकर्ता निस्किएपछि मात्रै बजारमा ठूलो करेक्सन आउने धारणा काकाको रहेको छ।
ब्रोकरमा केवाईसी खोल्नेको घुईंचो
बजार बढेसंगै ब्रोकरमा नयाँ कारोबार खाता खोल्नेको भिड लागेको छ। भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) का कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाका अनुसार भिजनमा अहिले दैनिक ४०/५० वटा ट्रेडिङ्ग अकाउन्टहरु खुलिरहेका छन्। बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको तिमिल्सिना बताउँछन्। त्यस्तै क्यापिटल म्याक्स सेक्युटिज (ब्रोकर नम्बर ६२) का चिफ अपरेटिङ्ग अफिसर प्रतिक अधिकारी पनि नयाँ डिम्याट र कारोबार खाता खोल्नेहरुको संख्या उल्लेख्य बढेको बताउँछन्। ‘बजार बढेको सुनेपछि धेरै लगानीकर्ताहरुमा मा म छुट्छु कि (फेयर अफ मिसिंग आउट) जस्तो भएको पाएको छु, खाता खोल्न आउने प्राय: ग्राहकहरु छिटो गर्दिनु है भोलि नै सेयर किन्नुपर्ने छ भनिरहेका हुन्छन।’
के बजारको वृद्धि टिक्ला ?
करिव ३ वर्षअघि नेप्से परिसूचक ३२२० को आसपासमा पुग्दै गर्दा भन्दा अहिले नेप्से परिसूचक २७०० को आसपास हुँदै त्यो बेलाको भन्दा बढी कारोबार भईसकेको छ। नेप्से परिसूचक २००० को आसपास बाट २८०० को नजिक पुग्दा समेत बजारमा करेक्सन आएको छैन। २५०० देखि २६०० को जोनबाट बजारमा केहि सय अंकको गिरावट आउनसक्ने आंकलनहरु पनि फेल भईसकेका छन्। के यसरी बढेको बजार दिगो होला त ?
भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना बजारमा अहिले संस्थागत लगानीकर्ताहरु छिरेकाले बजार त्यसरी फ्याट्टै घटिहाल्ने अवस्था नरहेको बताउँछन। नेप्से इन्डेक्स ३२०० नकटी बजार बढेको भन्न नमिल्ने र अझै पनि थुप्रै कम्पनीहरुको मूल्य फेयर भ्यालुकै आसपास रहेकाले बजार बढ्ने प्रशस्त ‘स्पेस’ रहेको उनको विश्लेषण छ।
त्यस्तै लगानीकर्ता तथा सेयर विश्लेषक केशव कोइराला काकाको विचारमा बजार अब ठूला लगानीकर्ताको हातमा गईसकेको छ। ट्रेडरहरुको हातबाट सेयर खोस्दै ठूला लगानीकर्ताहरुले आक्रामक खरिद गरेको हुँदा अब उनीहरु ननिक्लुन्जेल बजार ठूलो अंकले नघट्ने पनि उनको विश्लेषण छ।