नेप्सेको ओरालो यात्रा: किन देखिन थाल्यो बजारमा उच्च अङ्कको गिरावट?
आज नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह घटेको छ। दिनभर ५ अर्ब ९० करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ। यस दिन ३१९ कम्पनीको १ करोड ३८ लाख सेयर कारोबार भएको छ।
हाल सेयर बजारमा विभिन्न घटनाक्रमहरूको प्रत्यक्ष प्रभाव देखिएको छ। राजनीतिक अस्थिरता, सरकार परिवर्तन, र पूर्व अर्थमन्त्री रवि लामिछानेको गिरफ्तारी जस्ता घटनाहरूले बजारमा अफवाहहरू फैलिरहेको छन्। यी अफवाहहरूको कारणले गर्दा विशेष गरी नयाँ लगानीकर्ताहरू प्रभावित भएका छन्, लगानीकर्ताहरू यस्ता अफवाहहरूका पछि लाग्दै बजारमा प्यानिक सेल गर्न थालेका छन्। जसले नेप्सेमा दुई दिनभित्रैमा १०५ अङ्कको उलेख्निय गिरावट ल्याएको हो।
तर, प्राविधिक विश्लेषकहरूका अनुसार बजारमा आएको यो गिरावटलाई सामान्य रूपमा लिइएको छ। उनीहरूको भनाइ अनुसार बजार अहिले २६ सय अङ्कको बलियो सपोर्ट जोनको वरिपरि रहेको छ। यो सपोर्ट जोन बजारका लागि महत्वपूर्ण रहेको र बजार पुन: उकालो लाग्न सक्ने विश्लेषकहरू अनुमान रहेको छ।
नेप्से ५७.९९ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ५७.९९ अंकले घट्दा २३ कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कालिका लघुवित्त , पिपुल्स हाईड्रोपावर र मानुषी लघुवित्त रहेको छ।
नेप्से ५७.९९ अंकले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ५७.९९ अंकले घट्दा २२१ कम्पनीहरुको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नगदी ग्रुप, गुडविल फाइनान्स, चयङ्दी हाईड्रोपावर, इस्टर्न हाईड्रोपावर, र गुर्खाज फाइनान्स रहेको छ।