साफ वुमन्स च्याम्पियनसिपमा आज नेपाल र भारत खेल्दै, खेल कति बजे सुरु ?
काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरू आज हुनेछन्। पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ, भने दोस्रो सेमिफाइनलमा नेपालले ५ पटकको च्याम्पियन भारतसँग साढे ६ बजे प्रतिस्पर्धा गर्नेछ।
एन्फाका अनुसार नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने भएकाले दोस्रो सेमिफाइनलको समय एक घण्टा पर सारिएको हो।
सेमिफाइनलमा भारत बाहेक बाँकी तीन टिम (नेपाल, भुटान, र बंगलादेश) अपराजित रहँदै आएका छन्। नेपाल र भुटानले समूह चरणमा समान ७ अंक जोडेका थिए, जसमा गोलअन्तरका आधारमा नेपाल समूह विजेता भएको हो। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो।
समूह ए को विजेता बंगलादेश सेमिफाइनलमा पुग्नका लागि एक जित र एक बराबरीबाट ४ अंक जोड्यो। भारतले पनि समूह चरणमा पाकिस्तानलाई ५-२ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।
समूह चरणमा भारतलाई ३-१ ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको थियो। अब सेमिफाइनलमा कुन टिम अपराजित यात्रालाई कायम राख्नेछ, त्यो हेर्न बाँकी छ।