विश्वकप लिग २ मा आज नेपालले स्कटल्याण्डसँग खेल्दै
नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा भइरहेको सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ।
नेपालले यसअघिको खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो, जसमा स्कटल्याण्डलाई १५४ रनमै समेटेर नेपालले २९.५ ओभरमै १५७ रन बनाएर जित हात पारेको थियो। तर अमेरिकाविरुद्धको दुवै खेलमा नेपाल पराजित भएको छ – पहिलो खेलमा ३ विकेटले र दोस्रो खेलमा ३७ रनले, स्कटल्याण्ड भने अमेरिकालाई दुवै खेलमा पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
हालसम्म स्कटल्याण्ड र अमेरिकाले २-२ खेल जित्दै समान ४ अंक बटुलेका छन् भने नेपालले ३ खेलमा २ अंक मात्र जोडेको छ। अब नेपाल अन्तिम खेल जितेर यस टुरलाई सुखद रूपमा टुंग्याउन चाहन्छ।
नेपाल र स्कटल्याण्डबीचको हेड टु हेडमा नेपाल केही अघि छ। अहिलेसम्म यी दुई टोलीले कुल ७ ओडीआई खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ।
लिग २ को वर्तमान अवस्थामा, अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक बटुलेका छन् भने अमेरिकाको नेट रनरेटले गर्दा शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्डले १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ। नेपालले ११ खेलबाट ५ अंक मात्र जोडी सातौं स्थानमा छ। हालसम्म नेपाल लिग २ मा सबैभन्दा धेरै ८ खेलमा पराजित भएको टोली हो। नेपालभन्दा पछि युएई मात्र छ, जसले ९ खेलमा २ जितेर ४ अंक जोडेका छन्।
नेपालको लक्ष्य आजको खेल जितेर अमेरिका टुरलाई सकारात्मक अन्त्य गर्ने रहेको छ।