लगानीकर्ताको रोजाइमा रहेको फाइनान्स कम्पनीहरूको नाफामा सुधार, अन्य वित्तीय सूचक कस्तो?
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फाइनान्स कम्पनीहरूको मुनाफामा उल्लेखनीय सुधार देखिएको छ। नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये १४ वटाले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्, जबकि समृद्धि फाइनान्सले भने अझै विवरण सार्वजनिक गरेको छैन।
असोज मसान्तसम्ममा १४ फाइनान्स कम्पनीहरूले २० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो वर्षको यसै अवधिमा यिनै कम्पनीहरूले ५६ करोड रुपैयाँ घाटा व्यहोरेका थिए। समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा मञ्जुश्री फाइनान्सले कमाएको छ, जसले ९ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यसैगरी, दोस्रो स्थानमा प्रोगेशिभ फाइनान्सले ८ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ।
यस अवधिमा जानकी फाइनान्सको नाफा भने सबैभन्दा तीव्र वृद्धि भएको देखिएको छ। कम्पनीले आफ्नो नाफा १५७३८ प्रतिशतले बढाउँदै ६ करोड ९० लाख रुपैयाँ पुरयाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा केवल ४ लाख ३६ हजार रुपैयाँ मात्र थियो।
अन्य प्रमुख नाफा गर्ने कम्पनीहरूमा आइसिएफसी फाइनान्सले ६ करोड ८८ लाख, सेन्ट्रल फाइनान्स र गुडविल फाइनान्सले समान ४ करोड ९५ लाख, गोर्खास फाइनान्सले २ करोड ४२ लाख, मल्टी प्रपोज फाइनान्सले १ करोड ४७ लाख र श्री इन्भेस्टमेन्ट फाइनान्सले ४१ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका छन्। यस अवधिमा वेस्ट फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स भने घाटामा रहेका छन्।