रोकिएन बजारको गिरावट, कारोबार रकम पनि घट्यो
आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा बन्द भएको छ। आज हाईड्रोपावर उपसमूह बाहेक सबै उपसमूह घटेको छ। दिनभर ५ अर्ब ४१ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ। यस दिन ३१७ कम्पनीको १ करोड २२ लाख सेयर कारोबार भएको छ।
यस साताको पहिलो दुई कारोबार दिन (आइतबार र सोमबार)मा बजार १०५.४३ अंकले घटेर मंगलबार भने सामान्य अंकले माथि उक्लिएको थियो। तर, बुधबार पुन: बजारमा गिरावट आएको थियो । आज बिहिबार साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा सामान्य बढेको नेप्सेले गिरावटलाई निरन्तरता दिँदै बन्द हुने क्रममा घटेर बन्द भएको छ। आज नेप्से परिसूचक घटेसंगै कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ।
राजनीतिक अस्थिरताका कारण बजारले गति लिन नसकेको पनि अनुमान गरिएको छ। लगानीकर्ताहरुमा पनि अहिले बजारले स्थिरता लिन नसक्दा अन्योलमा रहेको देखिन्छ। चाडपर्वका कारण पनि बजारमा खासै उत्सुकता देखिएको छैन। कतिपय बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि सार्वजानिक गरिसकेका छन। समग्रमा बैंकहरुको वित्तीय विवरण नाफामा रहेकाले यसले बजारमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
प्राविधिक विश्लेषकका भनाइ अनुसार पनि बजार अहिले साइडवेज़ ट्रेन्डमा रहेको र केही समय उच्च अङ्कको सुधार वा गिरावट आउन सक्ने समभावना कम रहेको अनुमान गरेको छन्। साथै, बजारमा सकारात्मक पक्षहरू नै हावी भएको कारण बजारले केही समय लगाएर पुन: उकालो यात्रा तय गर्ने अपेक्षा गरिएको छ।