रास्वपाले रविमाथिको कारबाही पार्टीको प्रभाव दबाउने षड्यन्त्र हो भन्दै गर्यो दोस्रो चरणको संयुक्त आन्दोलन गर्ने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी हिरासतमा राख्नु पार्टीको प्रभाव र जनसमर्थन दबाउने सुनियोजित प्रयास भएको निश्कर्ष निकालेको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले पार्टीको बढ्दो लोकप्रियतालाई रोक्न लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरेको आरोप लगाए। रास्वपाले संसदीय छानबिन समितिको प्रतिवेदनको पृष्ठ ४४९ मा गोरखा मिडिया प्रालिमार्फत सहकारीको रकम दुरुपयोगमा लामिछानेको संलग्नता प्रमाणित हुने कुनै कागजी आधार नभेटिएको दाबी गर्दै पक्राउलाई राजनीतिक षड्यन्त्र भनेको छ।
सहकारीको रकम अपचलन आरोपमा कार्तिक २ गते पक्राउ परेका लामिछाने हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्, जहाँ प्रहरी प्रशासनले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।
रास्वपाले सत्ताको अधिनायकवादी प्रवृत्तिको विरोध गर्दै यसविरुद्ध दोस्रो चरणको संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ। साथै, पार्टीले आफ्ना स्थानीय संरचनाहरूमार्फत सहकारी नियमनको अवस्था अध्ययन गरी एक महिनाभित्र पीडित बचतकर्ताहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाइ गर्ने निर्णय पनि गरेको छ।
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई जनजीविका, राजनीतिक प्रतिशोध, बेथिति, र संगठित भ्रष्टाचार विरुद्ध जनचेतना अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता झाले जानकारी दिएका छन्।