प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : हामीलाई हतियार चलाउन आउँदैन, बिसाउन लगाउन जानेका छौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन आफूले लगाउन जानेको भन्दै जवाफ फर्काएका छन्। आइतबार गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लक्षित गर्दै जवाफ दिएका हुन् ।
‘एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ। हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे! त्यस्तै-त्यस्तै त हामी हुनुभएन नि। धम्काएको भरमा खाने!’ व्यङ्ग्यात्मक शैलीमा ओलीले भने,’तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ। तर, चलाउन हामीलाई आउँदैन।’
प्रचण्डले शनिबार काठमाडौंमा आयोजित सभामा माओवादीले हतियार बिसाएको भए पनि चलाउन नबिर्सेको भन्दै चेतावनी दिएका थिए। ओलीले यसको जवाफ दिँदै हतियार बिसाउन जान्ने भएकाले धम्की आवश्यक नभएको बताएका हुन्।