धितोपत्र बोर्डको नयाँ अध्यक्ष बिहिबार आउने सम्भावना, कसको पल्ला भारी ?
गत पुस २० गतेदेखि रमेश हमालले अवकाश प्राप्त गरेपछि रिक्त रहेको धितोपत्र बोर्डले अन्तत: बिहिबार नयाँ अध्यक्ष पाउने पक्का पक्की भएको छ। अर्थमन्त्रालय स्रोतका अनुसार शर्टलिस्टमा परेका ५ जनालाई भोलि कार्यपत्र प्रस्तुत गर्न बोलाउने र विहीबारको मन्त्रिपरिषदको बैठकले बोर्डको अध्यक्ष टुङ्ग्याउने तयारी भइरहेको छ।
धितोपत्र बोर्डको अध्यक्षका लागी १९ जना व्यक्तिहरूले आवेदन दिएका थिए जसमध्ये अध्यक्ष पदका लागि तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्जका कृष्ण बहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकहरू डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ शर्टलिस्टमा परेका थिए।
शर्टलिस्टमा परेका ५ जनाले भोलि आफ्नो योजना अनुसारको कार्यपत्र प्रस्तुति दिनेछन् र सो आधारमा ३ जना छनोट गरी मन्त्रिपरिषदमा पठाइने छ। मन्त्रिपरिषदले ती मध्ये एक जनालाई चार वर्षे कार्यकालका लागि धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नेछ।
धितोपत्र बोर्डका नयाँ अध्यक्षको काँधमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी स्टक एक्सचेन्ज, ब्रोकर कमिशन घटाउने र विशेष नियामकिय जिम्मेवारी रहेका छन्। स्रोतका अनुसार अर्थमन्त्रि वर्षमान पुनसँग निकट देखिएका चिरञ्जीवी चापागाईं धितोपत्र बोर्डको नयाँ अध्यक्ष बन्ने सम्भावना बलियो देखिन्छ।