तिहार अघिको अन्तिम कारोबार: सामान्य अङ्कले घट्यो नेप्से
आज नेप्से परिसूचक १४.४३ अंकले घटेर २६४४.६२ बिन्दुमा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ३ उपसमूह बढेको छ भने १० उपसमूह घटेको छ। दिनभर ५ अर्ब ९५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सिईडीबी हाइड्रोपावरको भएको छ। यस दिन ३०५ कम्पनीको १ करोड २० लाख सेयर कारोबार भएको छ।
यस साताको पहिलो कारोबार दिन सेयरबजारले सामान्य गिरावटका साथ सुरुवात गरेको थियो । सोमबार र मङ्गलबार भने २ दिन बजार ७४ अङ्कले बढेको थियो। तर, आज तिहार अघिको अन्तिम दिन आज बजार सामान्य अङ्कले घटेर बन्द भएको छ । अब बजार तिहारको बिदा सकिएपछि मात्र खुल्नेछ।
तिहार पर्व सुरु भएसँगै बजारमा माहोल नबनेको देखिन्छ। समग्रमा बजार अहिले साइडवेज़ ट्रेन्डमा रहेका छ भने बजारमा साकारत्मक पक्षहरू नै हावी भएको कारण बजारले तिहारपछि केही समय लगाएर पुन: उकालो यात्रा तय गर्ने अपेक्षा गरिएको छ।
नेप्से १४.४३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से १४.४३ अंकले घट्दा तीन ओटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७५ कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: मिड सोलु हाइड्रो पावर, गुराँस लघुवित्त, अप्पर स्याङ्गे, कुथेली बुखारी स्मल हाइड्रो पावर र एक्सेल डेभलपमेन्ट बैंक रहेको छ।
नेप्से १४.४३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से १४.४३ अंकले घट्दा १६४ कम्पनीहरुको सेयरमूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: जानकी फाइनान्स, एलआइसी नेपाल, माथीलो मैलुङ खोला, माई खोला हाईड्रोपावर र अपर लोहोरे खोला रहेको छ।