तिहारमा ४५ लाख गोटा माला खपत हुने, ३८ करोडको व्यापारको अनुमान
तिहारको अवसरमा नेपालमा ४५ लाख गोटा माला खपत हुने अपेक्षा गरिएको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा सयपत्री, मखमली, र गोदावरी फूलहरूको बिक्रीबाट ३८ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ।
आन्तरिक बजारमा माला खपतको बिषयमा उपत्यकामा ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला बिक्री हुने गर्छ । तिहारको समयमा आन्तरिक उत्पादनले ६० प्रतिशतसम्मको माग धान्ने र ४० प्रतिशत आयात गर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष मालाको माग १० प्रतिशतका दरले बढ्दै जाने गरेको पनि देखिएको छ ।
पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए तापनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयातमा वृद्धि हुने गर्छ । व्यवसायीका अनुसार तिहारको समयमा प्रतिगोटा सयपत्री माला ८० देखि १०० रुपियाँसम्मका दरमा उपलब्ध हुनेछन्। साथै, तिहारको समयमा नेपालबाट विदेशमा दुई लाखभन्दा बढी सयपत्री माला निर्यात हुने गरेको छ।
तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको बढी प्रयोग हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मुलुकभर ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । त्यस्तै देशभर एक हजार १७४ वटा नर्सरी सञ्चालनमा छन् । आठ अर्ब ८३ करोड लगानी रहेको पुष्प व्यवसाया ५१ हजारले रोजगारी पाएका छन् ।