तिहारका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक, कहिलेबाट किन्न पाइने ?
नेपाल राष्ट्र बैंकले तिहार पर्वका लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १३ गते १ दिन सुनको असर्फी र ११ कात्तिकदेखि १४ कात्तिकसम्म चाँदीको स्मारिका तथा मेडालियन बिक्री गर्ने जनाएको छ ।
राष्ट्र बैंकले २.५ ग्रामको सुनको असर्फी प्रतिव्यक्ती एक थानका दरले कात्तिक १३ गते बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा बेलुका ४ बजेसम्म बिक्री गर्ने जनाएको छ । सुनको असर्फीको बिक्री १ दिन मात्र खुला गरिएको छ । यसैगरी, चाँदीको स्मारिका तथा मेडालियन सिक्का कात्तिक ११ देखि १४ गतेसम्म बिक्री गर्ने जनाएको छ । २५ ग्रामको गाई अंकित सिक्का, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित १० ग्रामको सिक्का बिक्री गर्ने जनाएको छ ।
सुनका असर्फी र चाँदीको सिक्का खरिदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि सहित उपस्थित हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । सुन असर्फी तथा चाँदीको सिक्का खरिदका लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था महाशाखाले गरेको छ। । सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले सोही दिन ११ बजे पश्चात् मात्र बिक्री कार्य सुरु हुने जनाइएको छ ।