काँग्रेस–एमालेको सरकारलाई कसैले ढाल्न सक्दैन: प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार १०० दिन पुगेको अवसरमा बुधबार दिउँसो सम्बोधन गरेका छन्। यस अवधिमा सरकारका उपलब्धिहरू प्रस्तुत गर्दै उनले सरकार सही मार्गमा रहेको दाबी गरे। साथै, आलोचकहरूले सरकार ढाल्न नसक्ने बताएका छन्।
सरकार गठनदेखि नै सरकार ढल्ने हल्ला चलाइएको भन्दै ओलीले यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरे। उनले कांग्रेस र एमालेजस्ता प्रतिष्ठित दलहरूको सहकार्यमा बनेको सरकारलाई कसैले पनि ढाल्न नसक्ने बताए।
ओलीले भने, ‘काँग्रेस–एमाले मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ । सरकारले १०० दिन पूरा गरेपछि विरोध गर्छौं भन्छन् । होइन, सरकार बनेकै दिनदेखि विरोध सुरू गरिएको हो । यसको कारण थियो: देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहसनहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने ।’
ओलीले काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिने भन्दै सरकार बनाउने र ढाल्ने खेलले कर्मचारीतन्त्र नै अलमलिएको बताए । ‘सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ । कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाहरुले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्,’ उनले भने।