ओली-देउवाले बनाए दुई दलको राजनीतिक संयन्त्र, एक-एक महिना पालैपालो जिम्मेवारी सम्हाल्ने
सरकारको प्रभावकारीता र सफलतालाई सुनिश्चित गर्न सत्ता गठबन्धनका दुई प्रमुख दल—नेकपा एमाले र नेपाली कांग्रेसले दुईदलीय राजनीतिक संयन्त्र बनाएका छन्। यो आठ सदस्यीय संयन्त्रको नेतृत्व नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त रूपमा गरेका छन्।
यो संयन्त्रमा दुवै दलबाट चार-चार जना सदस्य छन्। नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्। त्यस्तै, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन्।
कांग्रेस सभापति देउवाको निर्देशनमा प्रदेश र जिल्ला स्तरमा पनि दुईदलीय संयन्त्र बनाउने निर्णय गरिएको छ। मंगलबार बसेको संयन्त्रको पहिलो बैठकमा दुवै दलले एक-एक महिना पालैपालो संयोजनको जिम्मेवारी सम्हाल्ने सहमति भएको छ। पहिलो महिनाको संयोजन कात्तिक २१ देखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति खड्काले गर्ने भएका छन्।
बैठकले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि ओली र देउवाको निर्देशनमा परराष्ट्रमन्त्री देउवालाई जिम्मेवारी सुम्पेको छ। संयन्त्रको निर्णय अनुसार भ्रमणका लागि आवश्यक तयारी र सहजीकरण गर्न कार्यदलले गृहकार्य गर्नेछ।