अर्थविद् अधिकारी भन्छन्, “अर्थतन्त्रको मुटु, कलेजो नै कमजोर भइसक्यो”
अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रलाई “अन्तरद्वन्द्वमा रहेको” टिप्पणी गरेका छन्।
सोमबार रिपोर्टर्स क्लबमा बोल्दै अधिकारीले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारी नेताहरूको बयानले अर्थतन्त्रमा सुधार देखिए पनि त्यसको वास्तविक प्रभाव जनताको जनजीवनमा नदेखिएको बताए। उनका अनुसार, वस्तु तथा सेवाहरूको मूल्य वृद्धि भएसँगै जनताले पहिलेको तुलनामा कम सेवा प्राप्त गरिरहेका छन्।
अधिकारीले खाद्यान्नको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको र नेपालजस्तो अर्थतन्त्रमा २० प्रतिशतको मूल्यवृद्धि सामान्यजस्तै भएको बताएका छन्। उनका अनुसार, नेपालको कुल ग्राह्यस्थ उत्पादनमा ऋणको हिस्सा ३५ प्रतिशतसम्म सहन सकिने भए पनि हाल यो ४४ प्रतिशतमा पुगेको छ, जुन गम्भीर चिन्ताको विषय हो।
उनले अर्थतन्त्रका केही क्षेत्रहरू कमजोर हुँदै गए पनि सरकारले स्वीकार नगरेको भन्दै, अर्थतन्त्रको प्रमुख अंगहरू “मुटु” र “कलेजो” कमजोर बनेको, जबकि “हात” र “पाखुरा” बलियोजस्तो देखिएको तर्क गरे। अधिकारीका अनुसार सरकारलाई अर्थतन्त्रको यथार्थ स्वीकारेर आगामी सुधारका कदम चाल्न आवश्यक छ।