ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा भारी कर लगाउने योजना
राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आयात हुने सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले मेक्सिकोबाट आउने उत्पादनहरूमा पनि यही दरको कर लागु हुने बताएका छन्।
यस्तै, ट्रम्पले चिनियाँ उत्पादनहरूमा १० प्रतिशत कर लगाउने योजना सार्वजनिक गर्दै,क्यानडा र मेक्सिकोमाथिको शुल्क आप्रवासी नियन्त्रण र अवैध लागूऔषध रोक्न आवश्यक रहेको बताएका छन्।
ट्रुथ सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले भने, “जनवरी २० मा पदभार ग्रहण गर्ने बित्तिकै क्यानडा, मेक्सिको र चीनमाथिको कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु।” उनले थपे, “सबैलाई थाहा छ, क्यानडा र मेक्सिकोबाट हजारौं मानिस अमेरिका प्रवेश गरिरहेका छन्। उनीहरुले लागुऔषध ल्याएर धेरै अपराध गरिरहेका छन् । जुन स्तरमा यो सबै भइरहेको छ त्यो पहिले कहिल्यै भएको थिएन।”
क्यानडा र अमेरिका बीचको व्यापार सम्बन्ध विश्वकै सबैभन्दा ठूलोमध्ये एक हो, जसको मूल्य १ ट्रिलियन डलरभन्दा बढी छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पलाई चुनावी जितका लागि बधाई दिएका भए पनि दुवै नेताबीचको सम्बन्धमा तनाव स्पष्ट देखिएको छ।