अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया र कफीको माग बढ्दो, नेपालले वार्षिक कति कमाउँछ ?
अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया र कफीको माग बढ्दै गएको छ। चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट्रिक टन कफी निर्यात गरिएको थियो, जुन आव २०७८/०७९मा निर्यात गरिएको ७२ मेट्रिक टन भन्दा बढी हो। यस निर्यातको मूल्य लगभग ९६ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०८०/०८१ का विस्तृत तथ्याङ्क अहिले संकलन भइरहेको छ।
आव २०७८/०७९ मा देशले ४५० मेट्रिक टन कफीको आयात गरेर ३२ करोड रुपैयाँ खर्च गर्यो, तर आव २०७९/०८० मा यो आयात घटेर १० करोड रुपैयाँमा पुगेको छ। यसले लगभग २२ करोडको आयात न्यूनीकरण दर्शाउँछ, जुन उपयुक्त मौसम र कफी खेतीको विस्तारका कारण भएको बताइएको छ।
हाल नेपालमा ३,६५९ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ, जसबाट करिब ३९५ मेट्रिक टन ‘ग्रिनविन’ उत्पादन भइरहेको छ। कफी खेतीमा संलग्न किसानहरूको संख्या ३३,००० भन्दा बढी छ र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग लगभग १४,००० मेट्रिक टन रहेको छ। गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत र बागलुङ जस्ता जिल्लाहरूमा व्यावसायिक कफी खेती गरिन्छ।
यस्तै, चियाको निर्यातमा पनि वृद्धि भएको छ। आव २०७८/०७९ मा चियाको निर्यात तीन अर्ब ८० करोड रुपैयाँ पुगेको थियो, जुन आव २०७९/०८० मा लगभग १४ करोडले वृद्धि भएको छ। चिया उद्योगको संख्या एक सय ६१ पुगेको छ र यस क्षेत्रमा करिब ६०,००० श्रमिक कार्यरत छन्।