अनुमति बिना आएको थाई एयर एसिया विमान एक घण्टा होल्डपछि काठमाडौंमा अवतरण
अनुमति बिना थाइल्याण्डको बैंककबाट काठमाडौं आउँदै गरेको एयर एसियाको विमान नेपाली आकासमा होल्ड गरेको एक घण्टापछि अन्ततः प्राधिकरणले अवतरण अनुमति दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आपतकालीन आधारमा अवतरण अनुमति दिएको हो ।
समर उडान तालिकाअनुसार २६ अक्टोबरसम्म मात्र थाई एयर एसियालाई काठमाडौंमा अवतरण अनुमति दिइएको थियो। तर, आजदेखि नयाँ विन्टर तालिका लागू भएकाले थाई एयर एसियाको विमानलाई अनुमति बिना नेपालमा प्रवेश गर्न मिलेको थिएन। स्थानीय समय अनुसार २ बजे काठमाडौंमा अवतरण गर्ने तालिका भए तापनि विमान एक घण्टाभन्दा बढी समय आकाशमा होल्ड गर्नु परेको थियो।
विमानलाई अवतरण अनुमति दिएर अब उक्त एयरलाइन्सलाई जरिवाना गराएर फिर्ता पठाउने तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख जगन्नाथ निरौलाले जानकारी दिएका छन्।